Explore the heritage and natural wonders of Budhanilkantha
अष्टभुजा पाथीभरा मन्दिर काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ६, च्यासिङटोलमा शिवपुरी पहाडको काखमा अवस्थित एक पवित्र धार्मिक स्थल हो। ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीको स्वरूप मानिने आठ वटा हात भएकी (अष्टभुजा) दुर्गा माताको यो मन्दिर निकै शान्त र हराभरा वातावरणमा रहेको छ। ताप्लेजुङ पुग्न नसक्ने भक्तजनहरूका लागि काठमाडौँ उपत्यकाभित्रै दर्शन गर्ने यो एउटा प्रमुख शक्तिपीठ बनेको छ, जहाँ विशेष गरी मङ्गलबार, शनिबार र दसैँको नवरात्रमा दर्शनार्थीहरूको ठुलो घुइँचो लाग्ने गर्दछ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको कपन बंगलामुखी मन्दिर कलात्मक टुँडाल र तोरणले सुसज्जित देखिन्छ। मन्दिर छेउको रुद्राक्षको रुख र मूल प्रवेशद्वार बाहिर मन्दिरतिर मुख फर्काइएको हनुमानको मूर्ति रहेको छ। प्रवेशद्वारबाट भित्र गणेश र भैरवको मूर्तिले सजिएको घण्टी र धूपदानीसहितको खुला मन्दिर देखिन्छ । मन्दिरको मूलढोका अगाडि ठूलो घण्ट अनि स्तम्भमा बाघको प्रतिमा रहेको छ। पूर्वतर्फको भित्तामा भगवानका सबै अवतार र अन्य देवी देवताका प्रस्तर मूर्ति स्थापना गरिएकाले यस मन्दिरमा इच्छाअनुसार देवीदेवताको आराधना गर्न सकिन्छ । यसको पूर्वमा पैँयुटारा पश्चिम कपनटार, उत्तमा कपन गुम्बा, दक्षिण फैँका रहेको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको बागद्वारमा वाग्मतीको मुहानमा बाघको मुखाकृतिबाट पानी निस्केको देखाइएको छ । यस क्षेत्रमा प्राकृतिक तथा पौराणिक आधार बनाएर पर्यटक प्रवर्धन गर्न सकिन्छ । वाग्द्वार माथि शिवपुरी चुचुरो रहेको छ । वाग्द्वारमा तीन वटा ढुंगेधारा करिब २० फुट लम्बाइको वर्गाकार पोखरी निर्माण गरिएको छ । यसको पूर्वमा नुवाकोट जिल्ला, पश्चिममा नुवाकोट जिल्ला, उत्तरमा नुवकोट र दक्षिणमा बूढानीलकण्ठ नगरपालिका रहेको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको बूढानीलकण्ठ पानीमुहानमा निकुञ्जको प्रवेशद्वारबाट २०० मिटरमाथि सुन्दरीजल-टोखा सडकबाट करिब २ किलोमिटर पश्चिममा विष्णुद्वार रहेको छ । सडकबाट करिब २० मिनेट ढुंगेसिंढी मार्फत पैदल दूरीमा विष्णुद्वार मन्दिर रहेको छ। यस स्थान प्राकृतिक सुन्दरताले मनमोहक रहेको छ ।वरिपरि जंगलसहितका अग्ला डाँडाको साँघुरो खोच भएकाले यहाँ दिउँसो पनि सूर्यको किरण पुग्दैन । नदिसँगै दायाँ किनारको साँधुरो गुफामा भगवानका मूर्तिहरू स्थापना गरिएका छन् । गुफाको देब्रे कुनामा दुई मिटर जति व्यास भएको भ्वाङलाई बद्रीनाथ र केदारनाथ पुग्ने सुरुङमार्ग भएको किंवदन्ती छ । यसको पूर्वमा तारेभीर, नागी गुम्बा, पश्चिममा आर्मी स्टाफ कलेज (टोखा ब्यारेक) दक्षिणमा बूढानीलकण्ठ मन्दिर उत्तरमा वाग्द्वार शिवपुरी चुचुरो पर्दछ ।
बूढानीलकण्ठ उत्पत्तिका सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलनमा छन् । हामीले अध्ययनका क्रममा हिमवत् खण्डको नेपाल महिमा र हालका मठाधीश श्री १००८ स्वामी निगमानन्दको भनाइलाई आधिकारिक मानेका छौँ । शिवपुरीमा सूर्यकेतु नाम गरेका राजा थिए । उनले दैनिक बद्रीनाथ र केदारनाथको दर्शन नगरी अन्न ग्रहण गर्दैनथे । राजा बृद् भइसकेपछि उनको शरीरले दिनचर्या धान्न सकेन । राजाले भोजन त्याग्नुपर्ने अवस्था आएको बद्री र केदार भगवानलाई जाहेर गरे । भगवानले उनकै राज्यमा दर्शनको व्यवस्था मिलाउने वचन दिए । यति भनेर भगवानले विश्वकर्मालाई आफ्नो मूर्ति बनाइदिन आज्ञा दिए । विश्वकर्माले मूर्ति बनाएपछि भीमले अहिले बूढानीलकण्ठ विराजमान भएको ठाउँमा मूर्ति प्रतिस्थापन गरिदिए । भोलिपल्ट दर्शन गर्दा भगवानको भिन्न आकृति देखेर राजा सूर्यकेतुले भगवानप्रती आशंका गरे । आफूमाथि षड्यन्त्र भएको गुनासो राजाले गरेपछि भगवानले तिम्रा सन्तानले समेत यहाँ आई दर्शन नगरून् भने पछि गद्दीसीनहरूले बूढानीलकण्ठको दर्शन गरेनन् । यो द्वापर युगको कुरा थियो । कलि युग सुरु हुनुपूर्व पृथ्वीमा उथलपुथल भयो । बूढानीलकण्ठको मूर्ति पुरियो । अर्को युग सुरु भएपछि यस क्षेत्रमा पनि मानिसको बस्ती विकास भयो । मानिसहरूले बूढानीलकण्ठको मूर्ति माथि धान झाँट्ने खलो बनाए । यसमा धान झाँट्दा जति झारे पनि धान निख्रिएन । थोरै धानको पनि उत्पादन धेरै भयो । अन्यत्र झारेको धान त्यस खलोमा खन्यायो भने दोब्बर बन्थ्यो । मानिसहरू अचम्म मानेर त्यो स्थानमा उत्खनन गरे । खन्दा त्यहाँ रगत आयो । अहिले पनि मूर्तिमा हेर्ने हो भने दाहिने हातको बूढी औंलामा खत देखिन्छ । मूर्ति भेटिएपछि पाप लाग्ने डरले किसानहरू भगवानका शरणमा परे । भगवानले पाप नलाग्ने वरदान दिएपछि उनीहरू खुसी भए । बरु किसान नीलकण्ठले उक्त उत्खनन गर्न थालेकाले मूर्तिको नाम नै किसानको नामबाट गरियो । किसान बृद् हुनाले मानिसले बृद् नीलकण्ठ भन्न थाले । कालान्तरमा अपभ्रंश हुँदै बूढानीलकण्ठ नाम प्रसिद्द हुन गयो । बद्री र केदार शिव स्वरूप छन् । विष्णु रूप यो मूर्तिमा सर्पको माला र पद्मको स्थानमा खरानीको थुप्रो हुनाले शिव–विष्णु स्वरूप देखिन्छ । यहाँ बटुकले पूजा गर्ने परम्परा छ । राजा प्रताप मल्लको पालासम्म पनि यस मूर्तिमा विराजमान भगवान् चलायमान थिए । दैनिक अप्सरा घाट गई स्नान गर्थे । एकदिन राजा प्रताप मल्ल बूढानीलकण्ठको दर्शन गर्न आए । एक नागले हत्तपत्त मन्दिर प्रवेश गर्न लागेका राजा प्रताप मल्लको बाटो छेके । प्रताप मल्लले उक्त नागलाई अन्धो भएस् भनेर श्राप दिए । उक्त नाग अहिले बहिरो नाग भनिन्छन् । त्यसपछि भगवान् छाया स्वरूपमा भक्तजनलाई दर्शन दिने गरी शालिग्राम स्वरूपमा रहे । ईश्वर भनेको अनौठो र असम्भव कार्य गर्न सक्ने भन्ने बुझिन्छ । बूढानीलकण्ठ अवस्थित पोखरीमा मूर्तिको छाया हेरियो भने मूर्तिकै स्वरूप देखिन्छ । बूढानीलकण्ठ मन्दिरको पूर्व भागमा वासिक गाउँ पञ्चकन्या मन्दिर, पश्चिममा विष्णुमती नदी,उत्तरमा मुहान पोखरी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र दक्षिणमा चपली, पार्क भिलेज होटल रहेको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलको मध्य भागमा अवस्थित चुनदेवी मन्दिरको नामबाटै यो गाउँको नामकरण गरिएको छ। मन्दिरको गजुरमा उम्रिएको पीपलका जराले पूरै ढाकिएको मन्दिरमा देवीका प्रतिमूर्तिस्वरू ढुंगाका शिला राखिएका छन् । गाई वा भैंसी ब्याएपछि पहिलो बिगौती दूध अनि चोखिएपछि पनि चुनदेवीलाई दूध चढाउने परम्परा रहेको छ। चुनदेवी दैनिक प्रातकालमा तल्लो टुसालमा अवस्थित पोखरीमा स्नान गर्न जाने गरेको किंवदन्ती पनि रहेको छ। यसको पूर्वमा पुतली डाँडा, पश्चिमा धोवी खोला, उत्तरमा वासिक गाउँ, दक्षिणमा कपन रहेको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं २ वासिक गाउँको माथि सिरानमा एउटा विशाल ढुंगो छ । स्थानीयहरू यो ढुंगालाई धोबी ढुंगा भन्दछन् । तौलुङबाट तारेभीर जाने बाटो यही धोबी ढुंगाको शिर हुँदै पूर्वतिर गएको छ । यसको अर्को नाम तारा खसे ढुंगा पनि भनिन्छ । सिकारीदेवी र पञ्चकन्यादेवीबीच विवाद हुँदा पञ्कुमारीदेवीले कान्छी औंलाले माथिबाट गुडाउँदा यो ढुंगा यहाँ आएर रोकिएको भन्ने किंवदन्ती पनि छ। यसको पूर्वमा नारायण डाँडा बालुवा, गोकर्णेश्वर नपा वडा १, पश्चिम बुढानीलकण्ठ मन्दिर वडा नं. ३, उत्तरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र नागी गुम्बा पर्दछ ।
राधाकृष्ण मन्दिर - इस्कन, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर-५ मा अवस्थित, अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ISKCON) अन्तर्गतको एक प्रमुख वैदिक मन्दिर हो । यो मन्दिर भगवान श्रीकृष्ण र राधामा समर्पित छ र वैदिक सनातन धर्म, भगवद्गीता तथा भक्ति-मार्गको शिक्षालाई प्रचारप्रसार गर्ने उद्देश्यले स्थापना गरिएको हो । आकर्षक वास्तुकला, स्वच्छ हरियाली वातावरण र भक्तिभावले ओतप्रोत हुनु, यहाँ दैनिक आरती, भजन-कीर्तन, प्रवचन, प्रसाद वितरण तथा धार्मिक उत्सवहरू (जस्तै जन्माष्टमी, राधाष्टमी, गोवर्धन पूजा) भव्य रूपमा आयोजना गरिन्छ । भक्तजनहरूले शुद्ध शाकाहारी भोजन, ध्यान अभ्यास, र वेदाध्ययन जस्ता कार्यमा पनि भाग लिन सक्छन् । \r\nयस मन्दिरको महत्व केवल धार्मिक मात्र नभई सामाजिक र शैक्षिक दृष्टिले पनि उत्तिकै महत्वपुर्ण छ । ISKCON मन्दिरले नैतिकता, आध्यात्मिक चेतना र समाजसेवा प्रवर्दनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । युवा पुस्तालाई सत्कर्म, आत्मसंयम र अध्यात्मिक जीवनशैलीतर्फ आकर्षित गर्ने यसको प्रयास सराहनीय छ । विदेशी तथा स्वदेशी पर्यटकहरूको नियमित आगमनले यो मन्दिरलाई बुढानिलकण्ठ क्षेत्रको एक प्रमुख धार्मिक-पर्यटकीय गन्तव्य बनाएको छ । मन्दिरको शान्त वातावरण, कीर्तनको मधुर ध्वनि र सत्सङ्गका अवसरहरूले आगन्तुकहरूलाई आत्मिक शान्ति र जीवन-दर्शनको अनुभूति प्रदान गर्दछ।\r\n
This is information of Jagadole Park
जाम्छेन विजय स्तुपा बुढानिलकण्ठ नगरपालिका वडा नं.–३ मा अवस्थित एक महत्वपूर्ण बौद्ध धार्मिक तथा सांस्कृतिक स्थल हो, जुन बौद्ध दर्शन, ध्यान, करुणा र विश्वशान्तिको सन्देश फैलाउने केन्द्रका रूपमा विकसित हुँदै गएको छ । यो स्तुपा विशेषगरी तिब्बती महायान परम्पराअनुसार निर्माण गरिएको हो र यसले धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण भूमिका खेलेको छ । राजधानी काठमाडौंको कोलाहलबाट टाढा, हरियाली डाँडामा अवस्थित यस स्तुपा भौगोलिक रूपमा पनि शान्त वातावरणमा रहेको छ । यस स्तुपाको नाममा रहेको “विजय” शब्दले बौद्ध धर्मको ज्ञान, करुणा र शान्तिको विजयलाई जनाउँछ । जाम्छेन भनेको बौद्ध धर्ममा उच्च स्थानमा रहेका दिव्य शक्ति सम्पन्न देवताको प्रतीक हो, जसले करुणा र रक्षाको प्रतिविम्ब जनाउछ । स्तुपाको वास्तुकला अत्यन्तै आकर्षक छ, जसमा बौद्ध धर्मका विविध प्रतीक चिन्हहरू, रंगीन प्रार्थना झण्डाहरू, थाङ्का चित्रहरू, र बुद्धका जीवनीसँग सम्बन्धित मूर्तिहरू सजिएका छन् । यस स्तुपाको वरिपरि वज्रयान बौद्ध अनुयायीहरूले मनि पद्मे हुँ मन्त्र जाप गर्दै घुम्ने परम्परा छ ।स्तुपा परिसरमा ध्यान केन्द्र, प्रार्थना स्थल, पुस्तकालय, धार्मिक अध्ययन तथा संवादका लागि कक्षहरू पनि स्थापना गरिएको छ । यहाँ नियमित रूपमा तिब्बती लामा तथा गुरूहरूको उपस्थितिमा ध्यान अभ्यास, शिक्षादान, पूजा र विशेष धार्मिक उत्सवहरू आयोजना गरिन्छ । विशेषगरी बुद्ध जयन्ती, ल्होछार, र धर्मचक्र प्रवर्तन दिवसका अवसरमा हजारौं भक्तजन तथा पर्यटकहरूको भिड लाग्ने गर्दछ । पर्यटकीय दृष्टिले हेर्दा, जाम्छेन विजय स्तुपा एक आकर्षक गन्तव्य हो । यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । हरियाली वातावरण, सुन्दर बगैंचाहरू, बौद्ध संगीत, र सम्यक सन्तुलित मौन वातावरणले गर्दा यो स्थल केवल धर्मिक होइन, अध्यात्मिक विश्राम र ध्यानको लागि पनि उपयुक्त स्थान बनेको छ । विदेशी पर्यटकहरू पनि यहाँ आएर बौद्ध दर्शनबारे जानकारी लिने, ध्यान गर्ने र तिब्बती संस्कृतिको अनुभव लिने गर्छन् । स्थानिय बासिन्दा, भक्तजन तथा बौद्ध धार्मिक संस्था मिलेर स्तुपाको संरक्षण तथा व्यवस्थापन गर्दै आएका छन् । स्तुपाले समुदायमा नैतिक मूल्य, सहिष्णुता र आपसी सहयोगको भावना फैलाउने कार्य गरिरहेको छ। बौद्ध धर्मको मूल सन्देश—अहिंसा, करुणा र ज्ञान—यस स्तुपाको निर्माण, सञ्चालन र वातावरणमा स्पष्ट देखिन्छ ।
बूढानीलकण्ठ नगरपालिकाको वडा नं ६/१३, धर्मपुरमा नौलिन (खड्ग) भदकालीको मन्दिर छ। काठमाडौँ उपत्यकामा अवस्थित तीन भद्रकाली मन्दिरमध्ये यो पनि एक हो | सिंहदरबार अगाडि भदकाली, नौलिन भद्काली (अजिमा चय) धर्मपुर, नौलिन भदकाली (चुनीखेल) गरी तीन भदकाली छन् । धर्मपुर स्थित अजिमा मन्दिर अगाडि एउटा शिलालेखमा अंग्रेजीमा ५२० एडी (520) लेखिएकोले यो मन्दिर त्यस समयमा बनेको अनुमान गर्न सकिन्छ । नेवारी भाषामा पहिले यस गाउँलाई \'ठलम पु\' भनिन्थ्यो जसलाई पछि धरमपुर भन्दा भन्दै धर्मपुर हुन गएको स्थानीयको राय छ ।
बुढानीलकण्ठ नगरपालिका, काठमाण्डौंमा अवस्थित खप्तड बाबा महासमाधि मन्दिर एक प्रमुख धार्मिक तथा आध्यात्मिक स्थल हो। यो मन्दिर प्रसिद्ध योगी तथा सन्त खप्तड बाबा को स्मृतिमा निर्मित भएको हो, जसले आफ्नो जीवन तपस्या, ध्यान, र अध्यात्म साधनामा समर्पित गरेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कपन गढी क्षेत्रमा सुन्दर मन्दिर रहेको छ। यो गढी पृथ्वीनारायण शाहले काठमाडौं विजयपूर्व बनाएको किंवदन्ती छ । स्थानीयले शिलामा पूजा गर्ने गरेकाले गुम्बा बनाउँदा मन्दिर पनि निर्माण गरिएको हो । यहाँको शिक्षामा मानिसको चरित्र निर्माणलाई प्राथमिकतामा राखिएको बताइन्छ । सर्वसाधारणलाई समेत खुला रहेको गुम्बा हाल अनुमति लिएर मात्र भित्र जान पाइने व्यवस्था मिलाइएको रहेछ । यसको पूर्वमा फुलारी गुम्बा, पशिचममा लक्ष्मिटार अधिकारी गाँउ, उत्तरमा चुनीखेल वडा नं.१३, दक्षिण वडा नं. ११ कार्यालय रहेको छ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको गर्भमा अवस्थित यो गुम्बालाई प्राकृतिक सौन्दर्यले छपक्कै छोपेको छ । जंगलको बीचमा रमणीय डाँडामाथि अवस्थित यो गुम्बासम्म पुग्न सडक सुविधा पनि छ । तलबाट निस्कँदा गुम्बा नपुगुन्जेल यो घनघोर जंगलमा मानवीय उपस्थितिको कल्पना पनि गर्न सकिन्न । गुम्बा ठूलो क्षेत्रफलमा फैलिएको छ । हजारौं मानिस अटाउन सक्ने यो पूर्वाधार हेर्न लायक छ । यहाँ सयौं विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन् । कक्षा ८ सम्म सरकारी पाठ्यक्रमका अतिरिक्त बौद्ध धर्म सम्बन्धी पाठयक्रम पढाइ हुने यस गुम्बाले आध्यात्मिक शिक्षालाई प्राथमिकता दिएको पाइन्छ । यहाँ बौद्ध परम्परा अनुसार पूजापाठ र ध्यान पनि गर्ने व्यवस्था छ । जंगली जनावर र चराचुरुंगीका आवाजले यसको मोहकता अझ बढाएको पाइन्छ । प्रकृति अध्ययनका लागि पनि यो सुन्दर पाठशालाका रूपमा रहेको छ । यसको पूर्वमा तारेभीर, पश्चिममा विष्णुद्वार धाम, उत्तरमा वाग्द्वार, दक्षिणमा बूढानीलकण्ठ मन्दिर रहेको छ ।
चुनीखेल धोबी खोलाको पूर्वीतटमा अवस्थित भद्रकाली मन्दिर यहाँको धरोहर मानिन्छ । वैशाखपूर्णिमा (चण्डीपूर्णिमा) का अवसरमा यहाँ विशेष मेला लाग्छ । यहाँ पूर्णिमाको दुई दिन अघिदेखि नै मेलाको रौनक सुरु हुन्छ । त्रयोदशीका साँझ पञ्चवली दिएर पूजा गरिन्छ । चतुर्दशीमा बिहानै वरिपरिका टोलबाट आएर पूजा आराधना गर्छन् । पूर्णिमामा पनि बिहानैदेखि भद्रकालीको पूजा आराधना सुरु हुन्छ । यो दिन राति टुपेक, टुसाल र चपलीबाट भद्रकालीका र गाम्चाबाट गणेशको सहित रथहरू ल्याइन्छन् । टुपेकका गुठियारहरूले बोका वलीसहित चाः (रात्रि) पूजा गर्छन् । गाम्चाबाट ल्याएको गणेशको रथ राति बास नबसाई गणेश थानमै पुर्याउने प्रचलन छ । भद्रकालीका रथहरू राति यहीँ बास बसाइन्छन् । भोलिपल्ट माथिल्लो टुसालका गणेशको रथ बाजासहित गाम्चा जाने बाटोमा भद्रकालीलाई लिन जाने अनि सबै रथहरू गाम्चा चौरमा पुर्याई राँगाको वलीसहित पूजा गरेर सिन्दूर जात्रा गरिन्छ । यसपछि वासा (पटुका) भुइँमा बिछ्याएर रथहरूलाई गाम्चाबाट बिदाइ गरेपछि आआफ्ना स्थानमा रथ पुर्याएर आआफ्ना टोलमा जात्रा गर्दै मेला समापन गर्ने प्रचलन छ । यसको पूर्वमा जनउद्दार मावि, पश्चिममा रुद्रमती (धोबी) खोला, उत्तरमा सुवर्ण शमशेर क्रिकेट मैदान, दक्षिणमा संयुक्त बसपार्क रहेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ वासिक गाउँमा पञ्चकुमारीको मन्दिर रहेको छ । पञ्चकुमारीको पूजा सधै गरिने भए पनि वैशाख पूर्णिमाको छेकमा चार दिन विशेष पूजा गरिन्छ । विशेष पूजा वैशाख चतुर्दशीको मध्य रातमा बोकाको बलिसहित पञ्चकुमारीको विशेष पूजापछि खटमा राखेर गाउँ परिक्रमा गराई उनीहरूको माइती भनिने यसै गाउँको पूर्वतर्फ झ्याङले खोला र धोवी खोलाको संगममा अवस्थित डाँडाको भित्तामा विशाल ढुंगाको फेदमा अवस्थित मन्दिरमा लगेर पुन्याइन्छ। यसको पूर्वमा पञ्चकन्या सामुदायीक वन वडा नं. २, पश्चिममा बूढानीलकण्ठ मन्दिर वडा नं. ३, उत्तरमा नारायण डाँडा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज वडा नं. २ र दक्षिणमा रुद्रेश्वरमहादेव मन्दिर र नौलीन भद्रकाली मन्दिर रहेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलको पूर्वपट्टि रहेको पुतली डाँडामा सल्ला, उत्तिस, अँगेरा र अन्य ससाना वनस्पति रहेका छन् । काठमाडौंको दृष्यावलोकन गर्न सकिने उत्तर-दक्षिण फैलिएको डाँडाको बिचमा किल्ला छ । यसको उत्तर र दक्षिणतर्फ ठूला चौर छन् । पृथ्वीनारायण शाहले काठमाडौं अधीन गर्नुअघि उनको फौज यहाँ बसेको स्थानीयको कथन रहेको छ। यसको पूर्वमा गोकर्णश्वर नगरपालिका, पश्चिम चुनदेवी मन्दिर, उत्तरमा तारेभिर र दक्षिणमा कपन बंगला मुखी मन्दिर रहेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ धोबी खोलाको पूर्वी किनारमा भद्वकालीको उत्तरमा रुदेश्वर महादेवको मन्दिर अवस्थित रहेको छ। पहराको ठूलो ढुंगामा अवस्थित मन्दिर खोलाको जल प्रवाह नजिक हुँदा यस मन्दिर अझ शोभायमान देखिन्छ । शिवरात्रिमा यहाँ विशेष पूजाआजाका साथै रातभर जाग्राम बसेर आराधना गर्ने चलन छ । यसको पूर्वमा बाडे पाखा, पश्चिममा भद्र बस्ती, उत्तरमा बखमानटार, दक्षिणमा भद्रकाली मन्दिर रहेको छ । रुद्रेश्वोर महादेव मन्दिर काठमाण्डौं उपत्यकाको बुढानीलकण्ठ नगरपालिका अन्तर्गतको भङ्गाल क्षेत्रमा अवस्थित एक प्रसिद्ध हिन्दू मन्दिर हो। यो मन्दिर भगवान शिवको रुद्रेश्वोर रूपको पूजा अर्चना गर्नको लागि प्रसिद्ध छ। मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
बुढानिलकण्ठ नगरपालिकाका ३ वटा वडाहरू पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज २००९ मा नामाकरण गरी त्यस क्षेत्रको भौगोलिक तथा प्राकृतिक सम्पदाहरूको प्रवर्दन प्रक्रिया अगाडि बढाइएको हो । काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लासँग सिमाना जोडिएको छ । यो जंगल क्षेत्रले बूढानीलकण्ठ नगरपालिका मात्र नभई उपत्यकाको उत्तरी क्षेत्रलाई नै स्वच्छ पिउने पानी र वायु प्रदूषण नियन्त्रणमा सहयोग पुर्याएको छ । सानो क्षेत्रफल भए पनि यो क्षेत्र जैविक विविधताका दृष्टिले ज्यादै महत्वपूर्ण छ । यस क्षेत्रमा १२५० प्रकारका फूल फुल्ने वनस्पति, ५७ प्रकारका जडीबुटी, ४९ प्रकारका कन्दमूल १२९ प्रकारका च्याउ पाइने कुरा निकुञ्जबाट प्रकाशित दस्तावेजहरूमा उल्लेख छ । शिवपुरी नागार्जन राष्ट्रिय निकुञ्जमा २४ प्रकारका स्तनधारी, १०६ प्रकारका पुतली र ३१८ प्रकारका चरा चुरुंगी भएको आँकडा छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज धार्मिक, पर्यटकीय र वातावरणीय दृष्टिले पनि महत्वपूर्ण छ । धार्मिक पर्यटनका लागि वाग्द्वार, विष्णुद्वार, शिवपुरी चुचुरो, कामधेनु शिला, शतरुद्रेश्वर शिला लगायत मुख्य छन् भने दृश्यावलोकनका लागि ककनी–गुर्जे–छापभञ्ज्याङ–शिवपुरी–पानी मुहान वाग्द्वार–रोल्चे–चिसापानी, टोखा–गुर्जेभञ्ज्याङ–गुरुङ गाउँ लगायतका क्षेत्रहरू बढी आकर्षक छन् ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनीखेलमा धोबी खोलाको पूर्वी किनारको मन्दिर भन्दा माथि करिब ९० रोपनी जग्गामा सुवर्ण शमशेर क्रिकेट मैदान रहेको छ । यस स्थानमा क्रिकेट मैदानसँगै पूर्वाधार सम्पन्न बनाई खेल सञ्चालन गर्न र खेल पर्यटन प्रवर्धन गर्न सकिन्छ। यहाँ सडक लगायत अन्य पूर्वाधार समेत तयार भएकोले खेल पर्यटन फस्टाउन सक्ने देखिन्छ । यसको पूर्वमा कौडोल, पश्चिममा नैलिन भद्रकाली मन्दिर उत्तरमा भद्रकाली सामुदायिक वन र दक्षिणमा जनउद्दार मावि रहेको छ ।
शिवपुरी निकुञ्जमा अवस्थित नागि गुम्बाबाट करिब दुई किलोमिटर पूर्वमा चट्टानले बनेको अग्लो भीर रहेको छ। यो भीर बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा अवस्थित छ। ढुँगैढुंगाको पहरो तारेभीर स्थानीय लामा समुदायबीच आराध्य रहेको छ । वैशाख शुक्ल पूर्णिमा, आश्वीन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) र माघे संक्रान्तिका दिन यही भीरको फेदमा गई पूजाआजा गर्ने स्थानीय लामा समुदायको परम्परा रहेको छ । वार्षिकरूपमा तारेभिर महोत्सव हुने गरेको छ । यसको पूर्वमा गोगर्णेश्वर नगरपालिका, पश्चिममा नागी गुम्बा, उत्तरमा वाग्ट्रार र दक्षिणमा पुतलीडाँडा रहेको छ ।
यो मुहान पोखरीमा अवस्थित छ। यहाँ शान्त ध्यान साधना अभ्यास गराइन्छ। यो बुद्धको ज्ञानमा आधारित छ । साधना गर्न इच्छुक स्वदेशी वा विदेशी जोसुकैले भाग लिन सक्छन् । यस संस्थाका लागि ३९ रोपनी जग्गा र संरचना निर्माण भएका छन् । एक पटकमा १०० जना पुरुष र १०० जना महिलाले साधना गर्न सक्ने व्यवस्था गरिएको छ । यसको पूर्वमा धोबी ढुंगा, पश्चिममा शिवपुरी जाने सडक, उत्तरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र दक्षिणमा बूढानीलकण्ठ मन्दिर रहेको छ।