जाम्छेन विजय स्तुपा बुढानिलकण्ठ नगरपालिका वडा नं.–३ मा अवस्थित एक महत्वपूर्ण बौद्ध धार्मिक तथा सांस्कृतिक स्थल हो, जुन बौद्ध दर्शन, ध्यान, करुणा र विश्वशान्तिको सन्देश फैलाउने केन्द्रका रूपमा विकसित हुँदै गएको छ । यो स्तुपा विशेषगरी तिब्बती महायान परम्पराअनुसार निर्माण गरिएको हो र यसले धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण भूमिका खेलेको छ । राजधानी काठमाडौंको कोलाहलबाट टाढा, हरियाली डाँडामा अवस्थित यस स्तुपा भौगोलिक रूपमा पनि शान्त वातावरणमा रहेको छ ।

यस स्तुपाको नाममा रहेको “विजय” शब्दले बौद्ध धर्मको ज्ञान, करुणा र शान्तिको विजयलाई जनाउँछ । जाम्छेन भनेको बौद्ध धर्ममा उच्च स्थानमा रहेका दिव्य शक्ति सम्पन्न देवताको प्रतीक हो, जसले करुणा र रक्षाको प्रतिविम्ब जनाउछ । स्तुपाको वास्तुकला अत्यन्तै आकर्षक छ, जसमा बौद्ध धर्मका विविध प्रतीक चिन्हहरू, रंगीन प्रार्थना झण्डाहरू, थाङ्का चित्रहरू, र बुद्धका जीवनीसँग सम्बन्धित मूर्तिहरू सजिएका छन् । यस स्तुपाको वरिपरि वज्रयान बौद्ध अनुयायीहरूले मनि पद्मे हुँ मन्त्र जाप गर्दै घुम्ने परम्परा छ ।

स्तुपा परिसरमा ध्यान केन्द्र, प्रार्थना स्थल, पुस्तकालय, धार्मिक अध्ययन तथा संवादका लागि कक्षहरू पनि स्थापना गरिएको छ । यहाँ नियमित रूपमा तिब्बती लामा तथा गुरूहरूको उपस्थितिमा ध्यान अभ्यास, शिक्षादान, पूजा र विशेष धार्मिक उत्सवहरू आयोजना गरिन्छ । विशेषगरी बुद्ध जयन्ती, ल्होछार, र धर्मचक्र प्रवर्तन दिवसका अवसरमा हजारौं भक्तजन तथा पर्यटकहरूको भिड लाग्ने गर्दछ ।

पर्यटकीय दृष्टिले हेर्दा, जाम्छेन विजय स्तुपा एक आकर्षक गन्तव्य हो । यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । हरियाली वातावरण, सुन्दर बगैंचाहरू, बौद्ध संगीत, र सम्यक सन्तुलित मौन वातावरणले गर्दा यो स्थल केवल धर्मिक होइन, अध्यात्मिक विश्राम र ध्यानको लागि पनि उपयुक्त स्थान बनेको छ । विदेशी पर्यटकहरू पनि यहाँ आएर बौद्ध दर्शनबारे जानकारी लिने, ध्यान गर्ने र तिब्बती संस्कृतिको अनुभव लिने गर्छन् । स्थानिय बासिन्दा, भक्तजन तथा बौद्ध धार्मिक संस्था मिलेर स्तुपाको संरक्षण तथा व्यवस्थापन गर्दै आएका छन् । स्तुपाले समुदायमा नैतिक मूल्य, सहिष्णुता र आपसी सहयोगको भावना फैलाउने कार्य गरिरहेको छ। बौद्ध धर्मको मूल सन्देश—अहिंसा, करुणा र ज्ञान—यस स्तुपाको निर्माण, सञ्चालन र वातावरणमा स्पष्ट देखिन्छ ।