



चुनीखेल धोबी खोलाको पूर्वीतटमा अवस्थित भद्रकाली मन्दिर यहाँको धरोहर मानिन्छ । वैशाखपूर्णिमा (चण्डीपूर्णिमा) का अवसरमा यहाँ विशेष मेला लाग्छ । यहाँ पूर्णिमाको दुई दिन अघिदेखि नै मेलाको रौनक सुरु हुन्छ । त्रयोदशीका साँझ पञ्चवली दिएर पूजा गरिन्छ । चतुर्दशीमा बिहानै वरिपरिका टोलबाट आएर पूजा आराधना गर्छन् । पूर्णिमामा पनि बिहानैदेखि भद्रकालीको पूजा आराधना सुरु हुन्छ । यो दिन राति टुपेक, टुसाल र चपलीबाट भद्रकालीका र गाम्चाबाट गणेशको सहित रथहरू ल्याइन्छन् । <br><br>टुपेकका गुठियारहरूले बोका वलीसहित चाः (रात्रि) पूजा गर्छन् । गाम्चाबाट ल्याएको गणेशको रथ राति बास नबसाई गणेश थानमै पुर्याउने प्रचलन छ । भद्रकालीका रथहरू राति यहीँ बास बसाइन्छन् । भोलिपल्ट माथिल्लो टुसालका गणेशको रथ बाजासहित गाम्चा जाने बाटोमा भद्रकालीलाई लिन जाने अनि सबै रथहरू गाम्चा चौरमा पुर्याई राँगाको वलीसहित पूजा गरेर सिन्दूर जात्रा गरिन्छ । यसपछि वासा (पटुका) भुइँमा बिछ्याएर रथहरूलाई गाम्चाबाट बिदाइ गरेपछि आआफ्ना स्थानमा रथ पुर्याएर आआफ्ना टोलमा जात्रा गर्दै मेला समापन गर्ने प्रचलन छ । यसको पूर्वमा जनउद्दार मावि, पश्चिममा रुद्रमती (धोबी) खोला, उत्तरमा सुवर्ण शमशेर क्रिकेट मैदान, दक्षिणमा संयुक्त बसपार्क रहेको छ ।